काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले आइतबारसम्ममा रेष्टुरेन्टको संरचना नभत्काए आफैँ गएर भत्काउने बताएका छन् ।
मन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन तीन दिनको समय दिएका छन् ।
आगामी आइतबार १२ बजेभित्र ती संरचना हटाउन मन्त्री आलेले हिजो बतास अर्गनाइजेसनलाई दिएको निर्देशन पालना नभए आफैं गएर भत्काउने चेतावनी दिएका हुन् ।
‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ ।
मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् ।
।