बंगलादेशमा विमान दुर्घटना: १६ जनाको ज्यान गयो, ७० घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

बंगलादेशको एक विद्यालय भवनमा भएको वायु सेनाको विमान दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ । घटनामा ७० जना भन्दा बढी घाइते भएका छन् ।

बंगलादेश वायु सेनाको प्रशिक्षण विमान ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटना भएको थियो । उक्त विमान चीनमा बनेको एफ–७ जेट भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

विद्यालयमा कक्षा चलिरहेकै बेला विमान खसेर दुर्घटना भएको समाचारमा उल्लेख छ । टेलिभिजनमा सार्वजनिक भएका फुटेजहरुमा दुर्घटनापछि विद्यालय परिसरमा कालो मुस्लोको धुँवा उडिरहेको देखिन्छ ।

एक शिक्षकका अनुसार विमान तीन तले विद्यालय भवनको अगाडिको भागमा ठोक्किएको थियो, जसले गर्दा थुप्रै विद्यार्थी भवनभित्र थुनिएका थिए । दुर्घटनामा दर्जनौँ विद्यार्थी घाइते भएका र केहीको गम्भीर रहेको छ ।

  • ५ श्रावण २०८२, सोमबार १७:२० प्रकाशित