पोखरा ।
कास्की प्रशासनले साँझ परेपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले साँझ ५ बजेपछि कुनै पनि सवारी साधन नचलाउन आग्रह गरेको हो ।
लामा दूरीका सवारीलाई दिउँसो ४ बजे र छोटा दुरीका सवारीलाई साँझ ५ बजेपछि स्याङ्जातर्फ प्रवेश गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सूचनामा उल्लेख गरेका छन् ।
शनिबारदेखि अविरल वर्षा भएको र आइतबार राति पनि भारी वर्षा हुन सक्ने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अपिल गरिएको छ । अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।















