स्याङ्जामा ट्राफिक नियम उलंघनकर्ताबाट झण्डै डेढ करोड राजश्व संकलन

केन्द्रभाग मिडिया

स्याङ्जा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत आर्थिक वर्ष २०८१/०८२ मा झण्डै डेढ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले उक्त आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेलाई कारबाही गर्दा एक करोड ४१ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने १९ हजार २ सय ८९ सवारी चालकलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए ।  अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष ३१ लाख भन्दाबढि राजश्व संकलनमा भएको हो । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१  मा  एक करोड १० लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

ट्राफिक प्रमुख गौलीले गत आर्थिक वर्ष दुई हजार १९५ ट्रक चालक कारबाहीमा पर्दा १५ लाख ४३ हजार ५ सय राजश्व सकंलन भएको बताए । सो अवधिमा २ हजार ५१४ बस चालकलाई कारबाही गर्दा १७ लाख ७८ हजार ५ सय राजश्व उठेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ७५ जिप, कार र भेनका चालकलाई कारबाही गर्दा ३० लाख ३१ हजार राजश्व उठेको छ भने १ हजार ४१५ ट्याक्टर कारबाहीमा पर्दा १० लाख १० हजार ५ सय राजश्व संकलन भएको छ । ६ हजार ७९३ मोटरसाईकल चालक कारबाहीमा पर्दा ५१ लाख ८५ हजार ५ सय र २२ सय ९७ अन्य सवारी चालकलाई कारबाही गर्दा १६ लाख ४ हजार ५ सय राजश्व संकलन भएको छ ।

जिल्लाका राजमार्ग र सहायक मार्गहरुमा ट्राफिक नियमलाई कडाईका साथ लागु गरेको प्रहरीले १४ सय २५ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकोमा कारबाही गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्दा ७ लाख ३९ हजार ५ सय राजश्व उठेको छ ।

ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरी सवारी चलाउने १३ चालकलाई यस अवधिमा पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो । उनीहरुलाई सचेत बनाउँदै आवश्यक कानूनी कारबाही गरेर छाडिएको प्रहरीले जनाएको छ ।

  • ३ श्रावण २०८२, शनिबार १२:१७ प्रकाशित