इस्लामावाद ।
पाकिस्तानको पन्जाब प्रान्तमा आएको भारी वर्षाका कारण बुधवार बिहानदेखि २४ घण्टामा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने २९० जना घाइते भएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश पीडितहरू भत्किएका भवनहरूले च्यापिएर ज्यान गएको हो भने बाँकीले डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका छन्।
राजधानी इस्लामावाद नजिकैको रावलपिन्डी सहरका अधिकारीहरूले मानिसहरूलाई घरभित्रै रहनका लागि बिहीबार सार्वजनिक बिदा घोषणा गरेका छन्। साथै, सहर भएर बग्ने नदी नजिकै बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
मनसुन सुरु भएदेखि अर्थात् जुनको अन्त्यदेखि नै देशभरि बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ। यसमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन् । बाढीका कारण पन्जाबभरिका धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिलो भएका छन्।
बिहीबार, प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले धेरै क्षेत्रमा आपतकाल घोषणा गरिएको बताइन्। उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै लेखिन्, ‘सरकारी संस्थाहरूले पूर्ण प्रयासका साथ काम गरिरहेका छन् ।’ उनले स्थानीय बासिन्दाहरूलाई सुरक्षा दिशानिर्देशहरू पालना गर्न आग्रह गरिन्।
पन्जाबका अधिकारीहरूले सप्ताहन्तभरि थप वर्षा र बाढी आउने चेतावनी दिएका छन्। प्रान्तभरि हजारौँ उद्धारकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ।















