काठमाडौं ।
भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा एकरदुई दिनभित्रै गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ ।
सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए ।
‘स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर पर लिङलिङमा एउटा मेजर पहिरो छ । त्यहाँ रक कटिङको काम भइरहेको छ,’ श्रेष्ठले भने ।
रसुवागढी–स्याफ्रुबेसी खण्डमा यो सबैभन्दा अप्ठ्यारो ठाउँ ठानिएको छ । ‘हाइटमा पनि छ, मुनि खोला पनि छ । सिधै भर्टिकल डाँडा भएकाले अप्ठ्यारो छ,’ श्रेष्ठ भन्छन्, ‘त्यहाँ छिचोलियो भने लगभग ट्राफिक ओपन गर्न सकिने अवस्था हुन्छ ।’
त्यहाँ ट्र्याक खुलाउन ब्रेकर, बकेट लगायतका साना–ठूला चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको उनले जानकारी दिए । ‘मौसमले साथ दियो भने र अरु प्राविधिक जटिलता आएन भने शुक्रबार नै रसुवागढी–स्याफ्रुबेसी सडक खुल्नसक्छ,’ उनले भने ।
गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।सो बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् ।
बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।















