पोखरा ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना छ ।
आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेशको थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना छ ।















