आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक

नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२र०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । गभर्नर डा विश्व पौडेलले शुक्रबार एक कार्यक्रमबिच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ ।केन्द्रीय बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै लचिलो मौद्रिक नीति ल्याएको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले नीतिगत दर घटाएको छ । केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ ।

त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २।७५ प्रतिशत बनाइएको छ ।

त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको गभर्नर प्रा। डा। विश्वनाथ पौडेलले बताए ।

सरकारले आगामी आवको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ ।

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो सीमा ६० प्रतिशत थियो ।त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

  • २७ असार २०८२, शुक्रबार १३:५१ प्रकाशित