‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय कार्यशाला

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला सुरु भएको छ । शुक्रबारसम्म चल्ने कार्यशालाको गण्डकी प्रदशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसीले बिहीबार उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उनले दीगो र आत्मनिर्भर कृषि प्रणालीका लागि जैविक विषादी प्रयोग अनिवार्य सर्त भएकोमा जोड दिईन् ।

जैविक विविधतापूर्ण गण्डकी प्रदेशमा रासायनिक विषादीको प्रयोगले उत्पादनमा ह्रास आउनुका साथै जलवायु परिवर्तन, विषादीयुक्त खाद्य पदार्थ सेवनका कारण स्वास्थ्यमा नकारात्मक असर भोगिरहेको उनको भनाई थियो । उनले भनिन् , ‘अबपनि हामी सचेत भएर रासायनिक विषादी प्रयोग घटाएर जैविक विषादी प्रयोग नगर्ने हो भने थप संकट निम्तिन्छ ।’

प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पुरुञ्चौर कास्कीकी क्याम्पस प्रमुख प्राडा दुर्गा देवकोटाले किसानले जानेर होस् वा नजानेर रासायनिक विषादीको प्रयोग बढाउँदै लगेको बताईन् । यसको असर पर्यावरणसँगै मानव स्वास्थ्यमा परिरहेको भन्दै उनले भनिन्,‘यसको नियन्त्रण र नियमन जरुरी भइसकेको छ । यसका लागि सबैले हातेमालो गरौं ।’

वनस्पती क्वारेन्टाईन तथा कीटनाशक व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले रासायनिक विषादीको प्रयोग गरिरहने हो भने निकट भविष्यमा खाद्य संकट निम्तिने चेतावनी दिए । नेचर बेस सोलुसन अहिलेको आवश्यक्ता हो,उनले भने,‘अन्यथा जलवायु संकट मात्र होईन, वातावरण प्रदुर्षण, मानव स्वास्थ्यमा नकारात्म्क असरसँगै खाद्य संकटपनि निम्तिन सक्छ ।’

कार्यशालामा नेपालसहित ६ देशका जैविक विषादीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागिता रहेको गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा नेपालसहित, बंगलादेश, भियतनाम, थाईल्याण्ड, म्यानमार र भुटानका प्रतिनिधिहरु सहभागी छन् ।

सचिव वासुदेव रेग्मीले जैविक विषादीको नमूना फार्मका रुपमा पोखरा–१३ दुईकुलाको मुहानमा टमाटर तथा पोखरा–२१ निर्मलपोखरीमा सुन्तला फार्मलाई अगाडि बढाइएको बताए । सो फार्महरुले जैविक विषादीबाटै उत्पादन बढाउन सफल भएको बताउँदै यसलाई अन्य ठाउँमापनि बिस्तार गर्नका लागि कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखरा–१३ दुईकुलाको मुहानमा चौधरी कृषि फार्म सञ्चालन गर्दै आएकी सकुन्तला चौधरीले आफूहरुले जैविक विषादी प्रयोग गरेर राम्रो उत्पादन गरिरहेको बताईन् । चार वर्ष अघिसम्म हामी रासायनिक विषादी प्रयोग गरेरै तरकारी फलाउँथ्यौं,उनले भनिन्,‘तर अहिले चार वर्षदेखि निरन्तर जैविक विषादी प्रयोग गर्दै आएको छौं । यो प्रयोग गरेदेखि किरा लाग्ने क्रमपनि कम भएको छ । उत्पादनपनि बढेको छ ।’

कार्यशालामा सहभागीहरुले आ–आफ्नो देश र क्षेत्रमा प्रयोग भएका जैविक विषादी र त्यसका फाइदाहरुबारे आपसमा सेयरिङ गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा मन्थन गर्ने जनाइएको छ । साथै जैविक विषादी प्रयोग गरिएका नमूना फार्महरुकोपनि स्थलगत अवलोकन गरिने केन्द्रीय कृषि प्रयोगशाला ललितपुरकी प्रमुख डा.शान्ता कार्कीले जानकारी दिईन् ।

 

  • २६ असार २०८२, बिहीबार २१:२२ प्रकाशित