काठमाडौं।
असार २४ गते मङ्गलवार रसुवामा आएको बाढीले ६०० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।
जसको कारण दैनिक करोडौंको क्षति भइरहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले जनाएकोछ । चीनतर्फबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोला ९भोटेकोशी० मा आएको बाढीले जलविद्युत आयोजनाहरूमा ठुलो क्षति पुर्याएको हो।
रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको इप्पानले जानकारी दिएको छ । उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलविद्युत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ ।
त्यस्तै निर्माणाधीन आयोजनाहरूमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिएको इप्पानले जनाएको छ ।















