विमानस्थलबाट निःशुल्क सटल बससेवा सुरु गर्दै पोखरा महानगर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले नयाँ वर्षकोअवसर पारेर निःशुल्क सटल बससेवा सञ्चालन गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको पोखरा महानगरपालिकाले जानकारी दिएको हो । नयाँ वर्षको शुभकामनासहित सञ्चालन गर्न लागिएको उक्त बस सेवाको मंगलबारदिउँसो २ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शुभारम्भ गर्ने तयारी छ ।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था र यातायात व्यवसायीको सहकार्यमा यो योजना अघि बढाइएको हो । पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइने भएको छ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

उनका अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा सटल बस सेवा सुरु गरिएको हो । विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सकुन भन्ने उद्धेश्यले पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा संचालन हुने छ ।

सटकल बस अत्याधुनिक सुविधा सहितको ३२ सिटे इलेक्ट्रिक बस हुनेछ जनाइएको छ । जसमा आरामदायी यात्रा अनुभवका साथै लगेज राख्ने सुविधा छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको हो । महानगरले प्रत्येक बस खरिदमा करिब १ करोड ६० लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

 

  • ३० चैत्र २०८२, सोमबार १७:५६ प्रकाशित