पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयले आवाशीय गुणस्तरीय शिक्षामार्फत विद्यार्थी तथा अभिभावकलाई आकर्षित गरिरहेको छ ।
वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावकलाई आकर्षित गरिरहेको विद्यालयमा कक्षा ६ देखि १० सम्म विभिन्न जिल्लाका ३० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
गुणस्तरीय शिक्षामा जोड दिदै आएको यस विद्यालयलाई वैदिक गुरुकुलीय पद्धति अनुसारको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय(रेग्मी)ले जानकारी दिए ।
उनका अनुसार विद्यालयले निशुल्क आवाश एवम् भोजनको व्यवस्था सहित विद्यार्थीलाई विभिन्न अतिरिक्त कृयाकलापमा पनि संलग्न गराउँदै आएको छ ।
विद्यालयले साप्ताहिक अतिरिक्त कृयाकलाप अन्तर्गत संस्कृतभाषा सम्भाषण, बक्तृत्कला, हाजिरीजवाफ, प्रवचन, वादविवाद, कविता, खेलकुद आदि सञ्चालन गरेको छ भने योगाभ्यास, संगीत शिक्षा आदि सञ्चालन गरिरहेको छ ।
वार्षिक रुपमा शैक्षिक अवलोकन भ्रमण, बनभोज जस्ता विभिन्न कृयाकलापका साथै अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रबृत्तिको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा नेपाली, अंग्रेजी, गणित, सामाजिक, वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड, गीत कम्प्युटर आदि विषय पठपाठन हुँदै आएका छन् ।
विद्यालयले यस शैक्षिक वर्षका लागि पनि कक्षा ६, ७, ८ र ९ मा सिमित सिटका लागि आवेदन फारम आह्वान गरेको उनले जानकारी दिए ।
उनका अनुसार यही चैत २५ गतेदेखि सुरु गरिएको भर्ना वैशाख ९ गतेसम्म चल्नेछ ।
निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् ।
मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । शुक्लागण्डकीको पावन तट पोखरा र मुक्तिनाथको प्रवेशद्वार गगन, च्यवन आदि ऋषिहरूको तपस्थलिमा रहेको यस विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ ।












