पोखरामा सुरुभयो २१ औं संस्करणको फेवा नववर्ष महोत्सव

महोत्सव १ वैशाखको रातिसम्म चल्ने, तीन किलोमिटर क्षेत्रमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथै खाना र खाजाका परिकार

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालीहरुको आफ्नै नयाँ वर्षलाई स्वागत गर्न हरेक वर्ष होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको २१ औं संस्करण सुरु भएको छ । धेरै भन्दा धेरै आन्तरिक र बाहिय पाहुना भित्र्याउने उद्देश्यसहित आयोजित महोत्सवको एक समारोहका बीच आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्घाटन गरेकी हुन् । महोत्सवको उद्घाटन गर्दै उनले देशकै पर्यटकीय राजधानी घोषित पोखरा ऐतिहाँसिक, सांस्कृतिक र प्राकृतिक रुपमा सुन्दर रहेको बताइन् ।

पर्यटन, संस्कृति र खानालाई मुख्य आकर्षण मानेर मनाइने महोत्सवले लोप हुन लागेका बाजा, परम्परागत नृत्यलाई जोगाउन, सामाजिक सद्भाव कायम गराउन महत्वपूर्ण रहेको उनको भनाइ थियो । यो महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । विभिन्न चुनौतिका बाबजुद होटल व्यवसायीले पोखराको विकास र पर्यटन प्रर्वद्धनका साथै अर्थतन्त्र चलायमान बनाउन योगदान दिएको उनको ठहर थियो ।

कार्यक्रममा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले अब आन्तरिकसँगै भारतीय र चिनियाँ पर्यटक प्रर्वद्धनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । संघकी सचिव पार्वता पाण्डेले सञ्चालन गरेको कार्यक्रममा पर्यटन, संस्कृति र खानालाई मुख्य प्राथमिकता दिइएको छ ।

संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलमा २५ प्रतिशत छुट दिएको जानकारी दिए । उनकका अनुसार लेकसाइडका हरेक चौतारामा र तीन किलोमिटर क्षेत्रको सडकमा विभिन्न कार्यक्रम हुनेछन् ।

महोत्सवको औपचारिक उद्घाटन गरिनु अगाडि खहरेचोक र ड्यामसाइडबाट विभिन्न बाजागाजा, सांस्कृतिक झाँकीसहितको र्याली प्रस्तुत गरिएका थिए । लेकसाइड स्थित आमा समूह, टोल विकास समिति र संघसंस्थाहरुको झाँकी र्यालीमा सहभागीता थियो । महोत्सव ड्यामसाइटदेखि खहरेसम्मको करिब पाँच किलोमिटर क्षेत्रमा संचालन हुने होटल संघले बताएको छ ।

सहिदचोक र खहरे बीचको सडकमा नेपाली नयाँ वर्षलाई स्वागत गर्ने महोत्सव १ वैशाखको रातिसम्म चल्ने छ ।

  • २९ चैत्र २०८२, आईतवार १८:१७ प्रकाशित