काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । फागुन २१ को संघीय निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेको र पार्टी नेतृत्वको कार्यशैली एकलौटी भएको भन्दै असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।
यही विषयमा केन्द्रीत रहेर आइतबार असन्तुष्ट पक्षको भेला भएको छ ।असन्तुष्ट पक्षको भेलाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको समितिलाई भंग गर्न माग गरेको छ ।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउन माग गरेको हो । अध्यक्ष लिङ्देनसँग तीन बुँदे माग राख्दै महाधिवेशन गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरिएको छ । केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्न समेत माग गरिएको छ ।
निर्वाचनबाट प्राप्त नतिजाको विश्लेषण गरेको राणा पक्षधरको बैठकले पार्टी ‘ सच्चिने कि सकिने’ गम्भीर अवस्थामा रहेको विश्लेषण गरेको छ । महाधिवेशनको माग गर्दै भनिएको छ,‘केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन । केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अतिरिक्त अवधिमा छ । पार्टीले म्याद थप गर्ने निर्णय गर्दा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जगजाहेर छ ।’
निर्वाचन पूर्व भएको केन्द्रीय समितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले चुनावी प्रक्षेपण बारे बोलेको कुरालाई समेत ध्यानाकर्षण गराइएको छ । लिङ्देनको तत्कालीन बोली स्मरण गराउँदै असन्तुष्ट पक्षले भनेको छ,‘मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, पार्टीको पक्षमा अकल्पनीय नतिजा प्राप्त हुने बताउनुभएको थियो । निश्चितरुपमा नतिजा त अकल्पनीय नै प्राप्त भयो तर, नकरात्मक रुपमा ।’
निर्वाचनमा पराजयको समीक्षा नगरिएको प्रति अध्यक्ष लिङ्देन माथि असन्तुष्ट पक्षले प्रश्न उठाएको छ । शर्मनाक पराजयको कुनै लेखाजोखा र नैतिक जिम्मेदारी वहन नगरिएको भन्दै राणा पक्षले आपत्ति जनाएको छ । बैठक पछिको निर्णयमा भनिएको छ,‘संकट र चिन्ताको यस घडीमा केन्द्रबाट दिशानिर्देश हुन्छ भनेर प्रतिक्षारत देशभरीका पार्टीपंक्तिको हात रित्तो छ । शून्यताबीच लाखौं कार्यकर्ता र पार्टीकै भविष्यलाई लिएर गम्भीर प्रश्न कायम छ । यसैबीच नेता, कार्यकर्ताहरुबाट पार्टी जिम्मेवारी र पार्टी सदस्यता परित्याग गर्ने क्रम जारी छ ।’
उपसभामुख पदमा उम्मेदवारी दिएको प्रति पनि संस्थापनइतरले असन्तुष्ट व्यक्त गरेको छ । निर्वाचनको आलो घाउमा उपसभामुखको निर्वाचन त झन् नूनचूक दलेसरह भएको टिप्पणी गरिएको छ । उपसभामुख पदमा उम्मेद्वारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न मात्र उठेको असन्तुष्ट पक्षले जनाएको छ । उपसभामुखको उम्मेदवारी बारे केन्द्रीय समिति – कार्यसम्पादन समितिमा छलफल नगरिएको प्रति आपत्ति जनाइएको छ । यो कार्यमा विधि, पद्धति, प्रजातान्त्रिक अनुशासन र जिम्मेवारीबाट पार्टी र नेतृत्व पूर्ण चुकेको निष्कर्ष संस्थापन पक्षले निकालेको छ ।












