आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली छ । तराईका जिल्लाहरूमा भने अहिले मौसम सामान्यतया सफा नै देखिएको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगातय देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा तथा कोशी प्रदेशको तराईमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा, बाँकी हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभाग र कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

  • २८ चैत्र २०८२, शनिबार ०८:३९ प्रकाशित