विमानस्थल सेवा सुधार गर्न सरकारको २४ घण्टे अल्टिमेटम : स्तनपान, शिशु स्याहार कक्षदेखि निःशुल्क स्यानिटरी प्याडसम्मको व्यवस्था गर्न निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका सम्पूर्ण विमानस्थलहरूको सेवा गुणस्तरमा सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासो र सुझावका आधारमा विमानस्थलका सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधारमा तत्काल सुधारको आवश्यकता देखिएको भन्दै मन्त्रालयले २४ घण्टाभित्र कार्यान्वयन गरी सोको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।

मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले शुक्रबार जारी गरेको पत्रमा विशेष गरी महिला यात्रुहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थलका प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न भनिएको छ।

त्यसैगरी, साना बालबालिका भएका आमाहरूका लागि सफा, सुरक्षित र गोप्यता सुनिश्चित भएको स्तनपान तथा ‘बेबी चेन्जिङ’ कक्ष सञ्चालन गर्न वा भएका कक्षहरूको स्तर वृद्धि गर्न मन्त्रालयले ताकेता गरेको छ । बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुहरूका लागि आवश्यक प्राथमिक हेरचाह कक्षको व्यवस्था मिलाउन पनि निर्देशनमा उल्लेख गरिएको छ।

विमानस्थलको सरसफाइलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन मन्त्रालयले दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न निर्देशन दिएको छ। विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्डका साथै राष्ट्रिय जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न भनिएको छ।

मन्त्रालयले विमानस्थल परिसरको नियमित निरीक्षण र त्यसको अनिवार्य अभिलेखीकरण सुनिश्चित गर्न समेत प्राधिकरणलाई सचेत गराएको छ। यी निर्देशनहरू कार्यान्वयन भएको अवस्थाको फोटो प्रमाण र लगबुक विवरण २४ घण्टाभित्र मन्त्रालयको इमेलमा बुझाउनुपर्नेछ । यदि निर्देशन पालना नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ।

 

  • २७ चैत्र २०८२, शुक्रबार १६:४२ प्रकाशित