पोखरा ।
गत चैत २५ गते बुधबार साँझ ७ बजेर १५ मिनेटको समयमा पोखराको सभागृह चोक नजिकै महिलाको हत्यामा संलग्न दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ शिल्मी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ मा डेरा गरी बस्ने २७ सन्तोष भनिने शिशिर के.सी र पोखरा महानगरपालका वडा नम्बर १७ रातो पहिरा बस्ने कुशल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
हत्यामा संलग्न दुवै आज पक्राउ परेको प्रहरीले जनाएको छ । हत्या गरि फरार भएका शिशिरलाई बुटवल उपमहानगरपालिका वडा नम्बर २ मनकामना टोलबाट र कुशललाई पोखराबाटै शुक्रबार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
शिशिरमाथि यसअघि २०८० माघ २४ गते अभद्र व्यवहार, २०८२ असार ५ गते चोरी तथा डाँका र साउन २३ गते पुन चोरी तथा डाँका कसुरमा पक्राउ परेका थिए । भने हत्यामा संलग्न अर्का युवक ३२ वर्षीय कुशल २०७५ असोज ११ र २०७६ बैशाख १७ गते लागूऔषध कसुरमा पक्राउ परेका थिए ।
उनीहरुले हत्यामा प्रयोग गरेको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा ७ मुस्ताङ चोकबाट र धारिलो हतियार खुँडा पोखरा महानगरपालिका १६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद भएको प्रहरीले बताएको छ ।उनीहरुले मास्क, हेल्मेट लगाई स्कुटरको नम्बर प्लेत समेत छोपेर गई महिलामाथि खुडाँ प्रहार गरेका थिए ।

हत्या गरिएकी महिला पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो कि.मी घर भई हाल पोखरा १८ सेदीमा बस्दै आएकी ४२ वर्षीया सृजना पौडेल के.सी रहेको खुल्न आएको थियो।
धारिलो हतियार प्रहार पछि घाईते भएकी सृजनालाई प्रहरीले तुरुन्तै उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएकोमा ८ बजेर १८ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।सृजनाको शव अहिले अस्पतालमै रहेको प्रहरीले जानकारी दिएको छ । सृजनाले पृथ्वीचोकदेखि नागढुंगातर्फ स्याङ्जा जाने बस छुट्ने सडक छेउमा जुत्ता पसल गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार हत्यामा संलग्नहरुले दिउँसैदेखि सिर्जनाको पसल अगाडिको चिया पसलमा बसी रेकी गरि साँझ पिछा गर्दै आइरहेका थिए ।
जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि पोखरा मालेमापाटनमा खसीबोकाको मासु व्यवसायी कृष्ण केसीले ४ वर्षअघि सिर्जनालाई विवाह गरेका थिए । २ वर्षअघि कृष्णको पनि मृत्यु भएको थियो । उनको अहिले ३ वर्षकी छोरी छन् ।
विवाह र श्रीमानको मृत्युपछि बढेको पारिवारीक कलह र अंशमुद्दाको विवादले सिर्जनाको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

२ वर्षअघि श्रीमानको मृत्यु भएपछि जेठीतिरका छोराछोरीसँग उनको विवाद चलेको बताइएको छ । उनले अदालतमा अंशमुद्दा हालेकी थिइन् । कास्की जिल्ला अदालतले बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्र विवाद चुलिएको प्रहरीले बताएको छ ।
अहिले प्रहरीले सिर्जनाको हत्यामा घरभित्रैको सदस्यको योजना हुन सक्ने थप प्रमाणहरुको अनुसन्धानमा गरिरहेको छ । सिर्जनाको सबैभन्दा ठूलो विवाद र कलह जेठी श्रीमतीतर्फका छोरासँग भएको पाइएको छ । उनी अहिले ब्राउन सुगरसहित प्रक्राउ परेर लागुऔषधको प्रयोगको मुद्दामा कारागारमा रहेको प्रहरीले बताएको छ ।













