विपक्षी दलहरूले उपसभामुखमा उम्मेदवारी दिने

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधिसभाको उपसभामुखमा विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितका दलले उम्मेदवारी दिनका लागि आन्तरिक छलफल गरिरहेका हुन् ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपक्षी दलहरूका तर्फबाट उपसभामुखमा उम्मेदवारी दिने तयारी भइरहेको जानकारी दिए । ‘संविधानको मूल मर्म सभामुख र उपसभामुख एउटै पार्टीको हुन हुन्न भन्ने विपक्षीलाई दिनुपर्छ भन्ने हो । हामीले सभामुखमा सर्वसम्मत हुन दिएर विपक्षीको धर्म निर्वाह गरेका छौँ,’ केसीले भने, ‘अब सत्तापक्षले विपक्षीलाई दिएर मर्म पालना गरेर सहसम्मत बनाउन प्रयास गर्छ भन्ने हाम्रो विश्वास हो ।’

केसीले यसबारे औपचारिक कुराकानी भने भइनसकेको जानकारी दिए । अहिले उपसभामुखमा उम्मेदवारी दिने कि नदिने र दिएमा कुन पार्टीबाट दिने भनेर आन्तरिक छलफलमा रहेका नेताहरूले बताएका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख मनोनयनको कार्यतालिका तोकेको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने घोषणा बुधवारको प्रतिनिधिसभा बैठकमा गरेका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमतमा छ । त्यसैले उसले कसलाई समर्थन गर्छ उही उपसभामुख हुने निश्चित छ ।

  • २६ चैत्र २०८२, बिहीबार १२:२२ प्रकाशित