लेबनानमा इजरायली हमला : एकैदिन २५४ को ज्यान गयो

केन्द्रभाग मिडिया

एजेन्सी ।

इजरायलले लेबनानमाथि अहिलेसम्मकै भीषण हवाई आक्रमण गरेको छ। अघिल्लो महिना हिजबुल्लाहसँग सुरु भएको संघर्षयताकै यो सबैभन्दा घातक हमला हो।

बुधबार भएको यस ठुलो स्तरको सैन्य कारबाहीमा २५४ जनाको ज्यान गएको छ भने १,१०० भन्दा बढी घाइते भएका छन्। अमेरिका र इरानबिच भएको दुई हप्ता लामो युद्धबिरामको केही घण्टा नबित्दै इजरायलले गरेको यो आक्रमणले पश्चिम एसियामा शान्तिको आशालाई फेरि अनिश्चिततातिर धकेलिदिएको छ।

इजरायली सेनाले यसलाई युद्धकै सबैभन्दा ठुलो र समन्वयात्मक आक्रमण भनेको छ।

यसैबिच, युद्धबिरामको दायरालाई लिएर ठुलो अन्योल र विवाद सिर्जना भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले लेबनानमा युद्धबिराम हुनु अमेरिका र इरानबिचको सम्झौताको अनिवार्य सर्त भएको बताएका छन्। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने लेबनान इरानसँगको युद्धबिरामको हिस्सा नभएको स्पष्ट पार्दै हिजबुल्लाहमाथि पूर्ण शक्तिले आक्रमण जारी राख्ने घोषणा गरेका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसले पनि लेबनान उक्त सम्झौतामा समावेश नरहेको दाबी गरेका छन्।

  • २६ चैत्र २०८२, बिहीबार ११:४९ प्रकाशित