पोखरा–मुग्लिन सडकको भौतिक प्रगति ७७.४७ प्रतिशत, के-के छ बाँकी काम ?

गोविन्द सुवेदी

पोखरा ।

पृथ्वी राजमागको पोखरा–मुग्लिन सडक खण्ड विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको निर्माणको भौतिक प्रगति ७७.७१ प्रतिशत पूरा भएको छ ।  मुग्लिन –पोखरा सडक योजना पश्चिम खण्डका  योजना प्रमुख कृष्ण बहादुर कुँवरले सडकको कालोपत्रे हुन अब ५०० मिटर मात्र  बाँकी  रहेको जानकारी दिए । उनका अनुसार विजयपुर पुलको एप्रोचमा एकतर्फी ४०० मिटर र पोखरा विश्वविद्यालय अगाडि १०० मिटर कालोपत्रे गर्न बाँकी हो । पश्चिम तर्फको ३८.७१ किलोमीटर सडक मध्ये ३७.२८ प्रतिशत सडकको दोस्रो तहको नै कालोपत्रेको काम सकिइसकेको छ ।

जम्मा ३८.७१ किलोमीटर मध्ये २०.५५ किलोमिटर चार लेन र १८.१६ किलोमिटर चार लेन प्लस सर्भिस लेन निर्माण हुने हो । जसमा दुई तर्फी गरेर ३६.३२ किलोमीटर सर्भिस लेन निर्माण गर्नुपर्नेमा १६.६६ किलोमिटर सर्भिस लेन निर्माण भइसकेको छ । पश्चिम खण्ड १२ वटा पुल निर्माण गर्नुपर्नेमा १२ वटै पुल निर्माण भएका छन् । ६०.५० किलोमीटर नाला निर्माण हुनुपर्नेमा ६०.१४ किलोमीटर नाला निर्माण भइसकेको छ ।

आयोजना प्रमुख कुँवरले आयोजनालाई सम्पन्न गर्न अझैपनि केही समस्या रहेको जानकारी दिए । उनका अनुसार  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका ३४ वटा विद्युतीय पोल स्थानान्तरण गर्न बाँकी छ । विमानस्थलले भुक्तानी गर्नुपर्ने रकम भुत्तानी नगरिदिँदा विदुत प्राधिकरणले काम सम्पन्न भइसक्दा पनि पोल स्थानान्तरण गरिदिएको छैन । जसका कारण सर्भिस लेन निर्माण लगायतका काममा समस्या आएको छ ।

त्यसैगरी छुट्टै ठेक्का लागेको चाइना पुलको दायाँबाँया निर्माण हुने सेती पुल निर्माणका लागि उत्तर तर्फ कारवास लगायतका जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली बिकास बैंकको पोलिसी अनुरुप पहुँच दिनुपर्ने हुँदा त्यस तर्फको पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

हाल सर्भिस लेन निर्माण, सेती पुलको ग्रिडर कास्टिङ, पोखरा विश्व विद्यालय अगाडि वाल निर्माण र तालचोक देखि डाँडाको नाकमा र खैरेनी टारदेखि दुलेगौडा सम्म सेफ्टी ब्यारीयर निर्माणको काम भइरहेको छ ।

पोखरा मुग्लिन सडक (पश्चिम खण्ड)  विस्तारको सुरुवात ३ जेठ २०७८ भएको हो । कुल लागत ७ अर्व ४० करोड (भ्याटसहित) रहेको आयोजनाको थपिएको म्याद अनुसार १५ असार २०८३ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । अब थपिएको निर्धारित समयमै आयोजना सम्पन्न हुने आयोजना प्रमुख कुँवरले बताए ।

 

  • २४ चैत्र २०८२, मंगलवार १६:५७ प्रकाशित