कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार

केन्द्रभाग मिडिया

बैंकक ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले जनाएको छ । दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।

कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए । दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ । कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको छ ।

कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणका लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अलपत्र परेकाहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजीकुमार क्षेत्रीलाई सम्पर्क गर्न सक्नेछन् ।

स्क्यामिङ केन्द्रमा काम लगाइएकाहरूको राहदानी रोजगारदाता कम्पनीले नै जफत गर्ने वा एक ठाउँबाट अर्को ठाउँमा सार्दा राहदानी हराउने गरेको गुनासो बढेको छ । यस्तो अवस्थामा नेपाल फर्कन चाहनेहरूका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिदिने व्यवस्था मिलाएको छ । यससम्बन्धी सम्पूर्ण प्रक्रिया दूतावासको वेबसाइटमा समेत राखिएको छ ।

पछिल्लो समय भिजिट भिसाको बहानामा कम्बोडिया पुग्ने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा यो संख्या हरेक वर्ष आकासिँदै गएको छ । सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४० र सन् २०२४ मा ६४०४ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६ सय ७६ पुगेको दूतावासले उल्लेख गरेको छ ।

भिजिट भिसामा गएर मानव तस्करको जालमा पर्ने क्रम बढेपछि दूतावासले चेतावनी जारी गरेको छ । नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले सम्पूर्ण नागरिकलाई सचेत गराएको छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा भ्रमणको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा रोजगारीको खोजीमा नआउन राजदूतावासले अपिल गरेको छ ।

  • २३ चैत्र २०८२, सोमबार ११:१५ प्रकाशित