काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार बिहान सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
‘बिहान ११ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान भएको छ,’ महासचिव पाण्डेले भने, ‘बैठकमा ३ विषयमा छलफल हुन्छ ।’
पाण्डेका अनुसार सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे पनि सर्वदलीय बैठकमा छलफल हुने पाण्डेले बताए ।













