पोखरा ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।













