पोखरा ।
नेपाल सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्न ढिलाई गरेको भन्दै यायतायात व्यसायी सरकारसंग रुष्ट बनेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । इन्धनको मूल्यमा भएको भारी बृद्धिसंगै सवारीसाधनको भाडादर समायोजनका लागि आग्रह गरेका व्यवसायीले समयमा भाडा समायोजन नहुँदा रुष्ट भएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले डिजेल र पेट्रोलको मूल्यमा भएको भारी बृद्धिले सवारी साधन चल्ने नै अवस्था नरहेको टिप्पणी गरे । उनले तेलको मूल्य बढेको मात्र नभएर २०६५ सालदेखी बनेको वैज्ञानिक भाडा समायोजन विधी अनुसार १३ वटा सूचकको विगत २०७८ सालदेखी भाडा समायोजन नभएको बताए ।
उनले हवाई इन्धनको मूल्य बढ्ने वित्तिकै हवाई टिकटको मूल्य बढ्ने तर सडकमा गुड्ने सार्वजनिक यातायातका साधनको मूल्य यति लामो समय हुँदासमेत समायोजन नहुनुलाई के भन्ने भन्दै प्रश्न समेत गरे । ‘हामीले तेलको मूल्य बढ्यो त्यो भएर भाडा बढाउ भनेका होइनौं । बैज्ञानिक भाडा समायोजन विधी अनुसार १३ वटा सूचक छन् । त्यसको आधारमा मूल्य समायोजन गर्न सरकारलाई अनुराध गरेका हौं । स्वचालित मूल्य प्रणाली लागु गरे इन्धनको मूल्य बढ्दा भाडा बढ्छ । घट्दा घट्छ । यो गर्न सरकारलाई के अप्ठ्यारो परेको हो ? त्यो बुझ्न सकिएन । हवाइजहाजले इन्धनको मूल्य बढ्नेबित्तिकै भाडा बढाउन पाउँछन्, तर सडकमा गुड्ने गाडीका लागि किन बेवास्ता’ उनले प्रश्न गरे ।
यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार १९ प्रतिशतसम्म भाडा बढाउनुपर्ने प्रस्ताव गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस प्रति उपयुक्त निर्णय लिन सकेको छैन । मन्त्रालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले प्रधानमन्त्री बालेन्द्र शाहसंगको परामर्शपछि मात्रै भाडा समायोजन सम्बन्धी अन्तिम निर्णय लिने अडान लिदा भाडा समायोजनमा ढिलाइ भएको हो ।
डिजेलको मूल्य चैत महिनामा मात्र मात्रै प्रतिलिटर ४० रुपैयाँले वृद्धि भएको छ । वैज्ञानिक प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ हुँदा भाडा समायोजन गर्नुपर्ने प्रावधान छ । टायर, लुब्रिकेन्ट र पार्टपुर्जाको मूल्य लगायतलाई भाडा समायोजनको आधार बनाइन्छ । मन्त्रालयका अधिकारीहरूका अनुसार, यी सबै सूचकलाई आधार मान्दा भाडा करिब १९ प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत शुक्रबार एक विज्ञप्ति नै निकालेर सरकारलाई भाडा समायोजनका लागि दबाब दिएको छ । नेपाल आयल निगमले २ चैतमा डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको थियो । ११ चैतमा डिजेलमा १५ रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ प्रतिलिट मूल्य बढाएको थियो । गत बिहीबार मात्र निगमले डिजेल र पेट्रोल दुबैको प्रति लिटर १५/१५ रुपैयाँ रुपैयाँका दरले मूल्य बढाएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २ चैत र ११ चैतमा नै प्रेश विज्ञप्ती मार्फत भाडा समायोजनका लागि दबाब दिएकोमा गत शुक्रबार अर्को विज्ञप्ति जारी गर्दै भाडा समायोजनका लागि आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले निकालेको विज्ञप्तिमा ‘..दैनिक रुपमा लाखौ रुपैयाँ घाटामा सेवा संचालन गर्नु पर्ने बाध्यात्मक अवस्था श्रृजना भएको हुदा अब उप्रान्त घाटामा व्यवसायीले सेवा संचालन गर्न नसकिने भएकोले सेवा बन्द गर्नु पर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिश भए बमोजिमको भाडा दरमा हालको मूल्य बृद्धी समेतलाई समेटी भाडा समायोजन गर्न अनुरोध गरिन्छ अन्यथा मूल्य बृद्धीका आधारमा बैज्ञानिक विधीलाई आधार बनाई भाडा स्वघोषणा गरि लिने बिकल्प नभएको हुदा नेपाल सरकारको संघीय सरकार र सातै प्रदेश सरकारहरुका सम्बन्धित निकायले वार्षिक रुपमा गरिने भाडा समायोजनको वैज्ञानिक विधी अनुसार यथाशिघ्र भाडा समायोजन गर्न यस महासंघ जोडदार माग गर्दछ’ भनिएको छ ।













