पोखरा ।
भूतपूर्व विद्यार्थी मञ्च, आनन्द ज्योति माविले भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित आनन्द ज्योति माविका पूर्व विद्यार्थीहरुको संस्था भूपूविद्यार्थी मञ्चले शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच २०८३ सालको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा विभिन्न बिषयमा विद्यावारीधी एवं चिकित्सा शास्त्र तर्फ डाक्टर उपाधी हासिल गरेका आनन्द ज्योति माबिका ६ जना पूर्व विद्यार्थीहरु प्रडा बिश्वराज अधिकारी, डा. पितृराज बास्तोला, डा. बिष्णुहरि तिमिल्सिना, डा. सुजन कडेल, डा. अर्जुन अधिकारी र डा. विश्व चन्द्र अधिकारीलाई सम्मान गरिएको छ भने गाउँमा नै बसी उन्नत बीउ बिजन उत्पादन र कफि खेतीको क्षेत्रमा देश तथा बिदेशमा परिचीत बन्न सफल कृषि बिज्ञ एवं पुर्व विद्यार्थी सुर्य प्रसाद अधिकारीलाई उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कंडेलले विद्यालयले आफ्नो नतिजा उत्कृष्ट बनाउदै लगेको भन्दै प्रशंसा गरे । गतबर्षको एसईई परिक्षामा सबै बिद्यार्थी उत्रिण गराएर सामुदायिक विद्यालयतर्फ सत प्रतिशत विद्यार्थी उत्रीण गराउने विद्यालयको रुपमा सम्मानित भएको भन्दै आगामी दिनहरुमा पनि यस्तै सुखद नतिजा लिकाल्न सकोस् भन्ने अपेक्षा रहेकोकोले पूर्व विद्यार्थीहरुले पनि यसका लागि आ–आफ्नो ठाउँबाट साथ र सपोर्ट गर्नु पर्नेमा जोड दिए ।
संस्थाका आजिबन सदस्य समेत रहेका अध्यक्ष कडेलले पूर्वविद्यार्थीहरु संगठित बनेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान एवं प्रोत्साहन गर्ने काम सकारात्मक रहेको भन्दै संस्थालाई साथ र सहयोग गर्न आफू सधै तत्पर रहने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारी, पुरस्कृत ब्यक्तित्व एवं कृषि बिज्ञ सूर्यप्रसाद अधिकारी, मञ्चका अध्यक्ष सुशीला अधिकारी सिग्देल, निबर्तमान अध्यक्ष बिकास प्रसाद कंडेल, संस्थाका संरक्षक एवं सल्लाहकारहरु फडिण्द्र मोहन शर्मा अधिकारी, प्राडा बिश्वराज अधिकारी, डा. बिष्णुहरी तिमिल्सिना, लक्ष्मी थापा, सम्मानित ब्यक्तित्व डा. पितृराज बास्तोला, विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, विद्यालय ब्यवस्थापन समिती सदस्य एवं मञ्चका संस्थापक सदस्य सन्तोष अधिकारी, मञ्चको आजिबन सदस्य लोचना अधिकारी लगायतले बोलेका थिए ।
मञ्चका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिब एवं भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक अर्जुन पौडेलले गरेका थिए ।













