इमर्जेन्सी कन्ट्रोल रुम’ २४सै घण्टा सञ्चालन : ८६ हजार बढी नेपालीले उद्धारका लागि गराए नाम दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रुम’ २४सै घण्टा सञ्चालनमा रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो कुराको जानकारी दिएका हुन् ।

उनले विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि कन्ट्रोल रुम सक्रिय रूपमा काम गरिरहेको र हालसम्म रुममा ८० वटा फोन कलसहित कुल २०० पटक सम्पर्क भएको जानकारी दिए ।

विदेशमा रहेका नेपालीहरूको विवरण सङ्कलनलाई प्राथमिकता दिँदै कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराइसकेको उनले बताए । तर पछिल्लो समय आफू असुरक्षित भएको भन्दै फोन गर्ने क्रम घट्दो रहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले विदेशस्थित १० वटै नेपाली नियोगमा हटलाइन सेवा सञ्चालनमा राखेको छ भने तीमार्फत समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन र समन्वय कार्य जारी रहेको जनाएको छ । हालसम्म ९ वटा नियोगमा ‘र्यापिड रेस्पोन्स टिम’ गठन भई सक्रिय रूपमा काम गरिरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार सम्पर्क गर्ने अधिकांश सेवाग्राहीले चार प्रमुख विषय उठाउने गरेका छन् । तीमध्ये कुवेतमा उडानको अवस्था, नेपाल फर्किने समय, श्रम स्वीकृतिसम्बन्धी जिज्ञासा तथा अन्य विविध समस्याहरू प्रमुख रहेका छन् ।

‘ट्रान्जिट’ मा समस्यामा परेका नेपालीहरूको व्यवस्थापन भइसकेको बताउँदै उनले कुवेतमा रहेका दुई नेपालीले साउदी भिसा प्राप्त गरे पनि स्वेच्छाले कुवेतमै बसेको जानकारी दिएको उनले बताए ।

विभिन्न कारणले मृत्यु भएका नेपाली नागरिकहरूको शव स्वदेश ल्याउने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ । उडान अवरुद्धका कारण ओमान, अबुधाबी, दुबई, रियाद, कतार, बहराइनलगायतका देशमा हाल ३८ जना नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको छ । मन्त्रालयका अनुसार चैत १८ गते कुवेत एयरलाइन्समार्फत ९ वटा शव नेपाल ल्याइसकिएको छ भने बाँकी शवहरू ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ ।

  • २० चैत्र २०८२, शुक्रबार १७:२२ प्रकाशित