काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका छन्। मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उनले सामाजिक सञ्जालमार्फत शुक्रबार बनाएका छन् ।
मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने र सर्वसाधारण तथा सरकारी निकायबाट लाभ लिन खोजेको सूचना प्राप्त भएको उनको भनाइ छ। यस विषयमा आफ्नो र सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्।
यस्ता गतिविधि नियन्त्रण गर्न र मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजैदेखि लागू हुने गरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन र अन्य विद्युतीय उपकरण लैजान रोक लगाइएको मन्त्री पौडेलले प्रस्ट पारेका छन्। उनले यस नियमबाट सहृदयी आगन्तुक र कर्मचारी वर्गमा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेका छन्।













