एमाले सचिवालय बैठक बस्दै : कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ ।

एमालेका एक नेताले भने, ‘बादल जीले हिजो संसदमा पार्टीको मूल्य मान्यता भन्दा विपरीत बोल्नुभयो । उहाँलाई संसदीय प्रक्रियाबारे सिकाइने छ र आइन्दा त्यसो नगर्न सचेत गराइने छ ।’

बादलले १९ चैतको संसद बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए । साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए ।

उनको विवादित अभिव्यक्तिले एमालेमा तरंग छ । उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे आजको सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र ‘उचित’ निर्णय हुने बताएका छन् ।

बादल एमालेको समानुपातिकतर्फबाट अहिले सांसद छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बादल कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।

  • २० चैत्र २०८२, शुक्रबार ११:११ प्रकाशित