आजदेखि एसईई सुरु हुँदै, उत्तरपुस्तिका समेत आज परीक्षण सुरु गरिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) सुरु हुँदै छ । यस पटक देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई दिँदै छन् ।

२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ  । जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थीले परीक्षा लेख्दै छन् ।

उत्तरपुस्तिका परीक्षणको काम समेत आज सुरु गरिँदै छ । वैशाख मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने तयारी छ । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गराउने कि इकाइमा ल्याएर परीक्षण गर्ने भन्नेमा निर्णय गर्ने अधिकार सम्बन्धित इकाइलाई नै दिइएको छ ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । उत्तरपुस्तिका परीक्षण बिहीबारै सुरु हुनेछ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको अधिकारीले जानकारी दिए ।

एसईई २९ चैतमा सकिनेछ । तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ  । २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ चैतमा ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा हुने तालिका छ  । २७, २८ र २९ चैतमा प्राविधिक धारका बाँकी विषयको परीक्षा हुनेछ ।

गण्डकीबाट ४३ हजारभन्दा धेरै परीक्षार्थीले एसईई दिने

यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुँदैछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन् ।

जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन् । त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्। त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ ।

 

  • १९ चैत्र २०८२, बिहीबार ०६:४४ प्रकाशित