काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।
सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई विनियोजन गर्न आफूहरूले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए ।
सांसद कोइरालाले बजेटको आकार हेरेर जरुरी योजनाहरूलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए ।प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसदहरुसँग छलफल गरेका थिए ।













