पोखरा ।
पोखरा महानगरपालिकाले घोषणा गरेर मनाइरहेको पोखरा भ्रमण वर्षको आयोजना र पोखरेली ट्याक्सी सेवा प्रालिको संयोजनमा पोखरा भ्रमण वर्षको अवसर पारेर पोखरा र पोखरालाई केन्द्र मानेर सञ्चालित ट्याक्सी तथा बसका चालकलाई लक्षित गरेर अभिमुखीकरण तालिम दिइएको छ । अभिमुखीकरण तालिमको मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ८ वडाध्यक्ष रुद्रनाथ बरालले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै उनले पर्यटकीय राजधानी पोखरामा गन्तव्य स्थलमा लैजाने चालक निकै महत्वपूर्ण रहेको बताए । उनले पोखरा विमानस्थललाई लक्ष्य अनुरुप सञ्चलनका लागि नयाँ सरकारले काम गर्ने अपेक्षा प्रकट गरे । पोखराको पर्यटन प्रबद्र्धन र पर्यटकीय पूर्वाधारका लागि महानगर लागि परेको उनले बताए ।
उनले पोखरा बसपार्क निर्माणका लागि डीपीआर तयार भइसकेको जानकारी दिँदै निर्माणका लागि महानगर र जनप्रतिनिधि लागि परेको उल्लेख गरे । पोखरा सभागृह पुननिर्माणको काम तत्काल अगाडि बढ्दै गरेको जानकारी दिएका उनले बसपार्क पनि छिट्नै बन्ने र बनाउनका लागि सबै एकजुट भएर आवश्यक दबाब दिनुका साथै सहकार्य गर्नुपर्नेमा जोड दिए ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले समग्र पर्यटन क्षेत्र प्रवद्र्धनका लागि सबैको हातेमालोको आवश्यकता औंल्याए । पोखरामा पर्यटन प्रर्वद्धनका लागि डिजिटल माधयमबाट धेरै नै प्रयास गरिएको उनले जानकारी दिए । विश्वका जुनसुकै विमानस्थलमा पुगेर फर्कँदा शुल्क तिर्ने व्यवस्था नरहेको बताएका उनले कम्तिमा १० मिनेट यात्रु छोड्न र लिन जाने सवारीसंग शुल्क नलिने व्यवस्थाका लागि पहल गरिने बताए । अहिलेको जमाना डिजिटल प्रविधिको जमाना भएको भन्दै उनले प्रविधिको प्रयोगतर्फ यातायात व्यवसायी जानुपर्ने र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । पोखरामा ट्याक्सी चढेपछि सुरक्षीत रहेको सन्देश विश्वभर दिनुपर्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरीयाले अब हरेक वर्ष पोखरा भ्रमण वर्षको धारणाका साथ अगाडि बढ्ने बताए । सवारी चालकले पोखराका धेरैभन्दा धेरै घुम्ने स्थलको बारेमा जानकारी दिन सके पर्यटकको बसाई अबधि लम्बिने उनको भनाई थियो ।
नेपाल पर्यटन बोर्ड गण्डक कार्यालयका प्रमुख मणिराज लामिछानेले ट्याक्सी र बसका चालकले गर्ने व्यवहारले यहाँको विशेषता झल्कने हुँदा विशेष चनाखो बन्नुपर्ने धारणा राखे । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष ऐनकुमार साईले पोखरा बसपार्क छिट्टो निर्माण गरिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराको पार्किङ व्यवस्थित गर्नुपर्ने र त्यसका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ कास्कीका अधयक्ष माधव बरालले यहाँको प्रकृति र संस्कृतिले मात्र पर्यटन क्षेत्र जोगाउन नसक्ने धरणा राखे । उनले पोखरामा हुने सबै सकारात्मक कार्यप्रति पत्रकार महासंघ साथमा रहेको बताए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिमा यातायात व्यवसायीलाई नसमेटेपनि आफूहरु भ्रमण वर्ष सफल पार्न लागि परेको बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोस ज्ञवाली, पर्यटन विज्ञ दीपेन्द्र पहारी र शक्ति समूह गण्डकी प्रमुख सरिता पौडेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा १५० जना चालक सहभागी भएको जनाइएको छ ।













