काठमाडौं ।
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै त्यस विरुद्ध दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सना र विरोध गरेको महासचिव शंकर पोखरेलले बताए । उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गरेको र उनीहरू दुवै जनाको तत्काल रिहाइको माग गरेको उनले बताए ।
बैठकले अध्यक्ष ओली र गृहमन्त्री लेखक पक्राउको राजनीतिक र कानुनी प्रतिवाद गर्न तीन नेतालाई जिम्मेवारी दिएको महासचिव पोखरलेले जानकारी दिएका छन् । उनका अनुसार राजनीतिक दलहरूसँगको संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गर्नेछन् ।
आजको सचिवालय बैठकको अध्यक्षता पनि बादलले नै गरेका थिए । उनी पहिलो वरीयताका उपाध्यक्ष पनि हुन् । यसैगरी कानुनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने महासचिव पोखरेलको भनाइछ । यस्तै समग्र जनपरिचालनको संयोजन केन्द्रीय कार्यालयले गर्ने उनले बताए ।
गत २३ र २४ भदौको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।











