काठमाडौं ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठक अहिले बिहान ८ः३० बजे बस्नेछ ।
अध्यक्ष ओली पक्राउको विरोधमा कार्यक्रम तय गर्न सचिवालय बैठक राख्न लागिएको उनले बताएका छन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ’, एमाले सचिव बस्नेतले शनिबार बिहान भनेका छन्, ‘अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’
राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिने उल्लेख गर्दै उनले नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिएको तर पछिल्ला घटनाक्रमले चिन्ता बढाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘बालेन सरकारद्वारा सुधन उरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले आज बिहानै निवासबाटै गिरफ्तार गरेको हो ।













