यस्ता छन् मन्त्रिपरिषदको पहिलो बैठकले गरेका चार निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गिरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै उनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरिएको बताए ।

यसैगरी बैठकले सरकारको शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ । उक्त कार्यसूची भोलिसम्ममा सार्वजनिक गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।

यसैगरी गत २३ र २४ भदौको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए ।

आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम हुने उनको भनाइ छ । अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकाय (गृह मन्त्रालय लगायत) लाई निर्देशन दिइने उनले जानकारी दिए ।

  • १३ चैत्र २०८२, शुक्रबार १९:२८ प्रकाशित