समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाल्फ अल्ट्रा म्याराथन सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा प्रथम खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा बिहीबार खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको हो ।

म्याराथनको मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिवन काटेर उद्घाटन गरेका थिए । मेयर पाण्डेले मध्यनेपाल आफैमा ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको स्थल भएको र यस्ता खालका कार्यक्रमले झन् यस क्षेत्रको प्रचारप्रसारमा सघाउने कुरामा जोड दिए। वडा नं.७ करापुटारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिर प्राङ्गणबाट सुरु भएको दौड वडा नं। ६ भोर्लेटार हुँदै मध्यनेपाल नगरपालिका वडा नं.५ समिभञ्ज्याङको विभिन्न स्थानीय बस्ती हुँदै तान्द्राङकोट नागभैरव थानमा गएर समापन भएको थियो।

देशका विभिन्न क्षेत्रबाट ८० जना धावकहरू सहभागी दौडमा गोरखाका धावक निरज भट्ट क्षत्रीले निर्धारित २१ किलोमिटरको दूरी १ घण्टा ३२ मिनेट ४८ सेकेन्डमा पार गरी प्रथम भए । उनले नगद ४० हजार रुपैयाँ, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

रामेछापका श्याम लामा भोटेले १ घण्टा ३४ मिनेट २८ सेकेन्डमा पार गरी दोस्रो भए । उनले नगद २५ हजार रुपैयाँ, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै स्याङ्जाका धावक धनु मानन्धरले १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा पार गरी तेस्रो भए । उनले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तनहुँका सनम गुरुङ, रामेछापका अमित राई,सोलुखुम्बुका मिलन कुलुङ, भोजपुरका उमेश बिष्ट, तनहुँका आदित्य जिसी र नवलपुरका रिखुलाल सिञ्जालीले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले नगद ३÷३ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरस्कार वितरण एवम् समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षता र वडा नं. ५ का वडा अध्यक्ष ओमवीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । तान्द्राङकोट पैदलमार्ग पर्यटन विकासका अध्यक्ष मेम बहादुर गुरुङले तान्द्राङकोटको ऐतिहासिक तथा धार्मिक महत्त्वका बारेमा प्रकाश पारेका थिए। वडा अध्यक्ष गुरुङले समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको यो क्षेत्र बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए।

कार्यक्रममा रेफ्रीहरू विश्वास केसी र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो । व्यास नगरपालिका वडा नं.५ का अध्यक्ष हिमाल श्रेष्ठ , स्थानीय समाजसेवी देवप्रसाद श्रेष्ठ र क्लबका सचिव इभन जोशीलगायतले बोलेका थिए ।

  • १२ चैत्र २०८२, बिहीबार १९:११ प्रकाशित