सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।

नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।

विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।विभागको सिफारिस अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन ११.३३ प्रतिशत,पहाडी बाटोमा चल्ने मालवाहक सवारी १४.२९ प्रतिशत, तराईको बाटोमा चल्ने मालवाहक सवारी ८.८१ प्रतिशत भाडा वृद्धिको प्रस्ताव गरिएको छ(

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ । वि।सं। २०७२ सालयता १३ वटा सूचकका आधारमा पूर्ण रूपमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले तत्काल यो सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।

  • ११ चैत्र २०८२, बुधबार १६:५७ प्रकाशित