तत्काल भाडा समायोजन नगरिए आफैँ बढाउने यातायात व्यवसायीको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नगरे आफुहरुले नै बढाउने चेतावनी दिदै सरकारलाई अल्टिमेटम दिएको छ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको भन्दै महासङ्घले यथाशीघ्र भाडा समायोजन नगरे आफैँ (स्वघोषणा) भाडा तोक्ने वा सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेटेर ध्यानाकर्षणसमेत गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

साथै महासङ्घले भाडा समायोजन गर्न विज्ञप्तिसमेत जारी गरेको छ । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले गत चैत २ गते रातिदेखि लागू हुने गरी डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गरेपछि यातायात व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ ।’

यसअघि २०८२ चैत २ गते नै महासङ्घले भाडा समायोजनका लागि सरकारसँग माग गरेको थियो । सोही मागका आधारमा यातायात व्यवस्था विभागले चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भाडा वृद्धिको सिफारिस गरिसकेको विज्ञप्तिमा उल्लेख छ । विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकको वैज्ञानिक भाडा समायोजन विधि अनुसार सार्वजनिक यात्रीवाहक सवारीमा ११.३३ प्रतिशत, तराईको मालवाहक सवारीमा ८.८१ प्रतिशत र पहाडको मालवाहक सवारीमा १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरेको छ ।

  • ११ चैत्र २०८२, बुधबार १६:१४ प्रकाशित