सुर्खेत ।
नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । घटनाको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
‘प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेष गरिएको हो’ उनले भने । अब सरकारी वकिल कार्यालयले नै मुद्दा अघि बढाउने उनको भनाइ छ । प्रहरीले प्रतिवेदनको निष्कर्षबारे जानकारी भने दिएको छैन ।
घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको डिएसपी बुढथापाले जानकारी दिए । ‘अब दुई ओटा रिपोट आउन बाँकी छ । बाँकी रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने भएपछि प्रतिवेदन पेष गरिएको छ’ डिएसपी बुढथापाले भने ।
इनिसा घटनाको छानबिनका लागि सुर्खेत आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान सकेर आइतबार नै काठमाडौं फर्किएको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१, बस्दै आएकी १६ वर्षकी इनिसाको गत फागुन २३ गते वीरेन्द्रनगर मृत्यु भएको थियो ।
सोही दिन प्रहरीले घटनास्थलबाट एक १६ वर्षे युवकलाई नियन्त्रणमा लिएको थियो । उनको बयानका आधारमा थप तीन जनालाई २४ गते नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको थियो । घटनालगत्तै पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरी प्रतिवेदनले, पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । २३ गते नै पक्राउ परेका १६ वर्षीय युवकको मुख्य संलग्नता रहेको अनुसन्धानको निष्कर्ष छ । २४ गते पक्राउ परेका अन्य तीन युवकहरूको बयान र विभिन्न ठाउँका सिसिटिभी फुटेजमा देखिएको समय रेखा मिलेको प्रहरीले बताएको छ ।
‘अहिलेसम्म २४ गते पक्राउ गरेका अन्य तीन जना युवकको संलग्नता पुष्टि भएको छैन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरू सहयोगको लागि करिब ९ बजे घटनास्थलमा पुगेको देखिन्छ । त्यो सिसिटिभी फुटेजले पुष्टि गर्छ ।’
२४ गते पक्राउ परेका तीन युवक साथीलाई सहयोग गर्न घटना स्थलमा पुगेको प्रहरीको ठहर छ । ती युवकहरू घटनामा संलग्न नभए पनि घटनास्थलमा भने लापरबाही गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनको ठहर छ ।
घटना घटेको १९ दिनसम्म इनिसाको शव भने कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ । उनले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ ।













