सुनसरीमा ई–रिक्सा चढेकी किशोरीलाई जंगलमा लगेर बलात्कार, चालक पक्राउ

केन्द्रभाग मिडिया

विराटनगर ।

आफ्नै सिटी सफारी ( ई–रिक्सा) चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा सुनसरीमा चालक पक्राउ परेका छन् ।

प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । किशोरीको किटानी जाहेरीमा आरोपितले धरानस्थित साकेला पार्क नजिकको जंगलमा लगेर हात बाँधेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया ती युवती सफारीमा चढेपछि अपहरणमा परेकी हुन् । उनलाई विश्वकर्माले गलत बाटोबाट जंगल लगेर बलात्कार र लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।

ती किशोरी मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँस्थित मावली घरबाट कपडा लिन धरानस्थित घर आएकी थिइन् । फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेका बेला सफारी चालकले इटहरी लग्दिने भनेर चढाएको बताइएको छ ।

प्रहरीका अनुसार चालकले किशोरीलाई एकान्तमा लगेर कुटपिट गरी अचेत बनाएका थिए । इप्रका धरानका डीएसपी भीषणबाबु राईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरेको र फुटेजका आधारमा सवारीसाधनको पहिचान भएको उनको भनाइ छ ।

  • ११ चैत्र २०८२, बुधबार १४:४३ प्रकाशित