काठमाडौं ।
इरानी सेनाको कब्जामा रहेका ३३ वर्षीय अमृत झाको सकुशल रिहाइका लागि पहल गरिदिन उनको परिवारले सरकारसँग आग्रह गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय अमृत झा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत छन् । उनी पानीजहाजका चालकको भूमिकामा छन् ।दुबईबाट इरानतर्फ इन्धन लिन गएको र उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले बठदर अब्बाबसबाट पक्राउ गरेको अमृतकी दिदी पूजा झाले बताइन् ।
अमृतलाई हाल स्ट्रेट आफ होरमुज नजिक इरानको सुरक्षा निकायद्वारा पक्राउ परेका भन्ने जानकारी प्राप्त भएको पूजाको भनाइ छ । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दिएको निवेदनमा अमृतलाई बठदर अब्बास करागारमा राखिएको दावी गरिएको छ ।
अमृत झाका आफन्तले सोमबार यही विषयलाई लिएर परराष्ट्रमन्त्री बलानन्द शर्मा र सचिव अमृतबहादुर राईसँग भेटेका थिए ।भेटको क्रममा अमृतका भिनाजु राजेशकुमार झाले तेल ढुवानी गरेर फर्किने क्रममा इजरायल–अमेरिका आक्रमणपछिको तनावका कारण सो क्षेत्रमा अवस्था जटिल भई झालाई नियन्त्रणमा लिएको बुझिएको बताए ।
पक्राउपछि अमृतको सुरक्षा तथा अवस्थाबारे कुनै स्पष्ट जानकारी प्राप्त हुन नसकेको विषयलाई उनले मन्त्री शर्मा र सचिव राई समक्ष राखेका थिए ।जबाफमा मन्त्री शर्माले आफू अब एकदुई दिनमात्र बहाल रहने भन्दै अब बन्ने सरकारले नै यी सबै समस्या सम्बोधन गर्ने प्रस्ट पारे । यद्यपि परराष्ट्र मन्त्रालयले आफ्ना नियोगमार्फत अमृतको अवस्थाबारे बुझ्ने प्रयास जारी राखेको उनले जानकारी दिए ।
सचिव राईले पनि सम्पूर्ण सूत्रबाट अमृतको रिहाइका लागि पहल भइरहेको बताएका थिए ।अमृत झाको सुरक्षा, स्वास्थ्य तथा यथाशीघ्र रिहाइ सुनिश्चित गर्न इरानसँग कूटनीतिक माध्यमबाट तत्काल पहल गरिदिन परिवारजनले माग गरेका छन् ।













