काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाभित्र कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ ।
राखेपका खेलकुद विकास विभाग प्रमुख सराज कुमार पोखरेलले पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेकाले २४ घण्टाभित्र सफाई पेश गर्न पत्र पठाएका हुन् ।
‘नियामक निकायसँग पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेको हुँदा परिषदको कार्याकारी समितिको मिति २०८२/१२र०९ को बैठकबाट ऐनको दफा २८ को (ड) र दफा २९(१) बमोजिम भएको निर्देशन कार्यान्वयन नगरी प्रचलित कानून विपरित कार्य गरेको हुँदा ऐ। ऐनको दफा २९ को (२) बमोजिमको कार्बाही किन हुनु नपर्ने होरु सो का लागि ऐ। दफाको (७) बमोजिम पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र सफाई पेश गर्नका लागि पत्राचार गर्ने निर्णय भएको हुदाँ सोही बमोजिम उचित कारण सहित लिखित जवाफ पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ’ पत्रमा लेखिएको छ ।
यसअघि राखेपले चैत ५ गते एन्फालाई निर्वाचन स्थगित गरेको लिखित जानकारी तीन दिन भित्र गराउनु भनी पत्र पठाएको थियो । तर एन्फाले चैत ८ गते जवाफी पत्र पठाउँदै निर्वाचन स्थगित नहुने र तोकिएको मिति चैत १३ मै निर्वाचन हुने जानकारी गराएको थियो ।
राखेप सदस्य सचिव राम चरित्र मेहताले सोमबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायत विभिन्न पक्षलाई राखेपमा बोलाएर अर्ली इलेक्सनको विषयमा छलफल गरेका थिए ।
उक्त छलफलपछि बसेको राखेप कार्यकारी समितिको बैठकले अन्तिम पटक एन्फालाई स्पष्टिकरण पेश गर्न २४ घण्टा समय दिएको हो ।













