हतास भएर होइन, जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको हुँ : सभापति थापा

केन्द्रभाग मिडिया

 काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जवाफदेहीतालाई ध्यानमा राख्दै पदबाट राजीनामा दिएको प्रष्टिकरण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूले कुनै हतार र हतासमा आएर नभई जवाफदेहीतालाई ध्यानमा राखेर राजीनामा दिएको प्रष्ट्याएका हुन् ।

पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको थापाको जिकिर छ ।

उनले राजीनामा कुनै दबाब र ग्लानीको विषय नभएको बताए ।‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’ थापाले भने ।

साथै, उनले विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौं कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे ।

‘विशेष महाधिवेशन गरेर कहिंकतै कमजोरी गर्‍यौं कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ उनले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’

  • १० चैत्र २०८२, मंगलवार १४:०९ प्रकाशित