काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो ।
यसरी कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेको प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेलले जानकारी दिइन् ।
यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ । त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाको अवधिका लागि निलम्बन गरिएको छ ।
यी दुईबाहेक कारबाहीमा परेका अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको जानकारी प्राधिकरणले दिएको छ ।
बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशन विपरीत कुनै पनि कार्य गरेमा सम्बन्धित निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
पहिलोपटक निर्देशन उल्लङ्घन गर्नेका लागि दुई लाख रुपैयाँ, दोस्रो पटक सोही गल्ती दोहोर्याएमा पच्चीस लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गल्ती गरेमा प्रत्येक पटकका लागि ५० लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
पहिलो पटकका लागि प्राधिकरणले सो बराबरको जरिवाना गरेको हो ।













