चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैँडा मरे

केन्द्रभाग मिडिया

चितवन ।

चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २र२ वटा, अजिङ्गर, सुन गोहोरो १र१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेर लगायतका कारण मरेका हुन् ।

यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकिएको उनले बताए । समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए । रासस

  • ९ चैत्र २०८२, सोमबार १२:१३ प्रकाशित