ग्यास आयात ३ महिना यताकै उच्च, तर माग बढ्दा आधा सिलिण्डर विक्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल आयल निगमले फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात गरेको छ । आयल निगमले बढ्दो मागको माग थेग्न आधा सिलिण्डर ग्यास बिक्रीको नीति लिएपनि ग्यास आयातमा भने कमी नआएको तथ्यांकले देखाएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ । यो पुस र माघको तुलनामा उच्च हो । पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो ।

सामान्यतया जाडो महिनामा ग्यासको माग बढ्ने गरेको थियो । तर पुस र माघमा विगतको तुलनामा आयात कम भएको तथ्यांकले देखाएको छ। खाडीको जारी तनाव र आयातमा आएको कमीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।

यही कारण नेपाल आयल निगमले २८ फागुनदेखि आधा सिलिन्डर मात्रै वितरण गरिरहेको छ । गत वर्षको फागुनभन्दा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको भन्सार तथ्यांकले देखाएको छ।

समग्रमा हेर्दा चालु आवको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो ।

  • ९ चैत्र २०८२, सोमबार ०९:१९ प्रकाशित