संसद महावीर पुनको पोष्टले निराश बनायो : सचिव पद्मा अर्याल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सचिव एंव सांसद पद्मा अर्यालले सांसद् महावीर पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै त्यसको खण्डन गरेकी छन् ।

सांसद पुनको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै पुनको टिप्पणीले आफूलाई निरास बनाएको बताएकी छन् । उनले लेखेकी छन् । ‘नयाँ संसदमा तपाईँ जस्तो सुविख्यात एवं प्रतिभावान् सञ्चार प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्रको सुधार एवं भ्रामक सूचनाको नियन्त्रणका सम्बन्धमा सहकार्य हुनेमा म उत्साहित थिएँ । तर आज तपाईँले गरेको पोस्टले निराश बनाएको छ ।’

अर्यालले सांसद पुनले टिप्पणी गर्दा कुनै पार्टीको मुखपत्र जस्तो फेसबुक पेजमा राखिएको ‘मनगढन्ते’ र ‘विषाक्त’ कुरालाई आधार बनाएको आरोप लगाएकी छन् । उनले आफूले नयाँ नेताहरूलाई तह लगाउने भन्ने कुनै पनि अभिव्यक्ति नदिएको दाबी गरेकी छन् । ‘मैले नबोलेको विषयमा नियोजित ढंगले राखिएको कन्टेन्टलाई तपाईँ जस्तो जिम्मेवार व्यक्तिले बिना मूल्यांकन प्रचार गरी द्वन्द्वको सिर्जना गर्नु चिन्ताजनक विषय हो ।’

  • ८ चैत्र २०८२, आईतवार १०:३८ प्रकाशित