पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको अध्यक्षमा रविप्रसाद आचार्य चयन भएका छन् । शुक्रबार राति सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य निर्वाचित भएका छन् ।
सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निवर्तमान अध्यक्ष दुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने लगायतले खादा तथा माला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटक यातायात सेवालाई अझ गुणस्तरीय बनाउँदै हरियो नम्बरप्लेट सवारीको गरिमा कायम राख्ने प्रतिबद्धता जनाएका छन् । उनले पर्यटनमैत्री सेवा विस्तार, व्यवसायिक सुधार र यात्रु सेवाको स्तर उकास्न नयाँ कार्यसमिति सक्रिय रूपमा लाग्ने बताए । अधिवेशनको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।












