पोखरा ।
पोखराबाट ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २९ सैनिक बस्तीका १९ वर्षीय आयुष तामाङ पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ परेका आयुषको कोठाबाट प्रहरीले झण्डै २५ सय एम्पुल लागुऔषध बरामद गरेको छ ।
उनको कोठा खानतलासी गर्दा डाईजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल र बुप्रिनर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल लागुऔषध बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनको साथबाट ९३ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद भएको छ । उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए।
यसैगरी पोखरा १० रामघाटबाट खैरो हिरोइन सहित अर्का एक जना पक्राउ परेका छन् । ८ ग्राम १५ मिलिग्राम खैरो हिरोइन सहित तनहुँ घर भई हाल सोही ठाउँ बस्ने २० वर्षीय शिव गिरीलाई पक्राउ गरिएको हो ।
उनको साथबाट एक थान मोबाइल बरामद पनि गरिएको छ । उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बस्नेतले जानकारी दिए।
कास्की प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै लागुऔषध सम्बन्धी ८० वटा मुद्दा दर्ता भएका छन् भने १ सय २० जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा १ सय ११ जना पुरुष र ९ जना महिला छन्। पक्राउ पर्नेमा १८ वर्षदेखि ६० वर्ष माथिको उमेर समुहका व्यक्तिहरु रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।













