शपथमा औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई सपथ लिन जाँदा औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरेको छ ।

नवनिर्वाचित सांसदहरुको आगामी चैत १२ गते शपथ ग्रहण गर्ने भएका छन् । सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २:०० बजे शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ ।

सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ।

उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र ९सक्कल र प्रतिलिपि०, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्नेछ।

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको यस सूचनामा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई यसबारे जानकारी गराइदिन समन्वयका लागि अनुरोध गरिएको छ।

  • ६ चैत्र २०८२, शुक्रबार ११:५६ प्रकाशित