गोरखामा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्दै गण्डकी सरकार

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले गोरखाको छेपेटारमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने भएको छ ।

यसअघि नै भौतिक संरचना तयार भैसकेको छेपेटारमा सरकारले ज्येष्ठ नागरिकलाई राख्ने गरी निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक आश्रम सञ्चालनको निर्णय गरेको सरकारका प्रवक्ता डा.टकराज गुरुङले जानकारी दिए ।

उनका अनुसार गोरखा नगरपालिका १० छेपेटारमा यसअघि नै सुविधासम्पन्न आवास भवन तयार भएको छ । प्रदेश सरकारकै लगानीमा २०७६ साल भदौ १ गते सम्झौता भएर भवन निर्माण सुरु गरिएको हो । आसिस इको जेभीले ३ पटक म्याद थपेर अघिल्लो वर्ष मात्रै भवन निर्माण सम्पन्न गरेको हो ।

३ रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् । सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ ।

केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भवन करिब ४ करोड लागतमा तयार गरिएको हो । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको कार्यालयले जनाएको छ ।

सोही भवनलाई ज्येष्ठ नागरिक आश्रमका रुपमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।

  • ६ चैत्र २०८२, शुक्रबार ११:४६ प्रकाशित